नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ असोज ।

सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’ मा राखिएको छ । सापकोटाविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले उक्त मुद्दा ‘हेर्न नमिल्ने’मा राखेको हो ।
यसअघि भदौ १६ मा पनि सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’ मा राखिएको थियो । सापकोटामाथी सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न रहेको आरोप लामाकी पत्नी पूर्णिमाया लामासहित मानवअधिकारवादी सुशिल प्याकुरेल र पत्रकार कनकमणि दिक्षीतले दायर गरेको रिटमा आजको लागि पेसी तोकिएको थियो । लामाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन् भने कनकमणि दीक्षितले असार ६ गते रिट निवेदन दायर गरेका थिए ।
सर्वोच्चले काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा संलग्न भए, नभएको अनुसन्धान गर्न र संलग्न भएको भए पक्राउ गर्न २०६८ असार ६ गते आदेश दिएको थियो । न्यायाधीशद्वय रामकुमारप्रसाद साह र प्रकाश बस्तीको संयुक्त इजलासले प्रत्येक १५-१५ दिनमा अनुसन्धानको प्रगति विवरण महान्यायाधिवक्ताको कार्यालयमार्फत पेस गर्न भनेको थियो । तर, जिल्ला प्रहरी कार्यालयले सर्वोच्चको आदेशका उल्लघंन गर्दै एक-एक महिनामा प्रगति विवरण बुझाउँदै आएको छ ।
२०६२ वैशाखमा काभ्रेको दाप्चास्थित श्रीकृष्ण माविबाट लामा अपहरणमा परेका थिए । लामा आफैंलाई खाल्डो खन्न लगाएर जिउँदै पुरेको भन्दै पत्नी पूर्णिमायाले दिएको जाहेरी प्रहरीले नलिएपछि उनी सर्वोच्च अदालतमा पुगेकी थिइन् ।

