अब कुकुर पाल्न दर्ता गर्नुपर्ने

कुकुर पाल्ने र पछि जथाभावी रुपमा छाडिदिने समस्या बढेपछि तनहुँमा दर्ता गरेर मात्रै कुकुर पाल्न पाउने नियम लागू गरिने भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले व्यास नगरपालिकाभित्र दर्ता गरेर मात्रै कुकुर पाल्न पाउने नियम लागू गर्न लागेको हो ।

कार्यालयले यस वर्ष तनहुँ व्यास नगरपालिकालाई रेबिजमुक्त बनाउन अभियान पनि सञ्चालन गर्न लागेको विज्ञ केन्द्र तनहुँका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार व्यास नगरपालिकाभित्र रहेका सामुदायिक तथा घरपालुवा कुकुरको विवरण पनि सङ्कलन गरिनेछ । ‘कुकुर पाल्ने र बीचमा जथाभावी छाडिदिने समस्या व्यापक छ, त्यसले गर्दा सडकमा दुर्घटनाको जोखिम पनि बढाएको छ,’ उनले भने, ‘त्यसो गर्दा रेबिजको जोखिम पनि उत्तिकै बढ्छ ।’



कुकुर बिरालो मानिसका साथी भएकाले यिनीहरुलाई माया गर्नुपर्ने र वर्षको एकपटक सामुदायिक र घरपालुवा कुकुर, बिरालोहरुलाई रेबिजविरुद्धको खोप लगाउनुपर्ने विज्ञ केन्द्रले अनुरोध गरेको छ । रेबिज रोगको लक्षण देखापरिसकेपछि कुनै उपचार नभएको र मृत्यु निश्चित भएकाले हेलचेक्र्याइँ गर्न नहुने पशु प्राविधिकको भनाइ छ ।

सम्बन्धित समाचार