नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ असाेज ।

मन्त्रिपरिषद् विस्तारमा विलम्व भएको भन्दै सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष तहका नेताहरुले नै प्रधानमन्त्री शेरबहादुर देउवाको चर्को आलोचना गरेका छन् । कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला र नेता प्रकाशमान सिंहले पार्टी, सरकार र सत्तारुढ गठबन्धनबीचको विश्वसनीयतामै ह्रास आएको निष्कर्ष निकाल्दै तत्काल मन्त्रीपरिषदलाई पूर्णता दिन पार्टी सभापति समेत रहनु भएका प्रधानमन्त्री देउवालाई दवाव दिएका हुन् ।
उपसभापति निधिको नयाँ बानेश्वरस्थित निवासमा सोमबार बसेको तीन नेताहरुको बैठकले सत्तारुढ गठबन्धन दलका नेताहरुलाई पनि विभिन्न कारण देखाएर मन्त्रीपरिषदलाई पूर्णता दिने काममा ढिलाई नगर्न सचेत गराए । सरकार र गठबन्धन दलको विश्वसनीयतामाथि नै प्रश्न उठी सकेकाले छिटोभन्दा छिटो मन्त्रीपरिषदलाई पूर्णता दिन सरकारलाई आग्रह गरिएको उपसभापति निधिले जानकारी दिए ।
नेताहरुबीच १४ औं महाधिवेशनमा पार्टी पदाधिकारीहरुमा साझा उम्मेदवारी दिने विषयमा पनि छलफल सुरु भएको छ । त्यसैगरी बैठकले क्रियाशील सदस्यतासम्बन्धि बाँकि ४ जिल्लाको विवाद छिटो टुंगो लगाएर पार्टीको वडा अधिवेशन, पालिका अधिवेशन र जिल्ला अधिवेशन समयमै सक्न पनि पार्टी सभापति शेरबहादुर देउवासँग माग गरेको छ ।
नेपाली काँग्रेसको बारा, रौतहट, सप्तरी र रसुवा जिल्लामा अझै पार्टीको क्रियाशील सदस्यतासम्बन्धि विवाद टुंगो लागेको छैन । त्यसमा पनि नेताहरुले चिन्ता व्यक्त गरेका छन ।उपसभापति निधिले पार्टीको आसन्न १४ औं महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसक्नु भएको छ भने महामन्त्री कोइराला र नेता सिंहले पनि सभापति बन्ने आकांक्षा राख्नु भएको छ ।

