नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ असाेज ।

नेपाली कांग्रेसले अहिले हिमाली जिल्लाहरुमा अधिवेशन गरिरहेको छ। हालसम्म १० हिमाली जिल्लाको नतिजा सार्वजनिक भइसकेको छ। ताप्लेजुङ, संखुवासभा, रामेछाप, दोलखा, गोरखा, मनाङ, मुस्ताङ, हुम्ला, कालिकोट र रुकुम पूर्वमा जिल्ला अधिवेशन सकिएको हो।
पछिल्लो पटक दोलखा कांग्रेस सभापतिमा बर्मा लामा विजयी भएका छन्। पौडेल समूहका उनी सोमबार सम्पन्न दोस्रो चरणको मतदानमा तारा खड्कालाई हराउँदै सभापतिमा विजयी भएका हुन्। दोस्रो चरणको निर्वाचनमा एक हजार तीन सय ७३ मत खसेको थियो। जसमा लामाले आठ सय ७७ मत पाएका छन्। कांग्रेसले दसैँअघि नै २१ हिमाली जिल्लाहरुमा अधिवेशन गरिसक्ने कार्यतालिका बनाएको छ।
अधिवेशन सकिएका १० जिल्लामा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पकड बनाएको छ। पौडेल समूह १० मध्ये ६ जिल्लाको नेतृत्व आफ्नो पक्षमा पार्न सफल भएको छ। पौडेल पक्षले हालसम्म संखुवासभा, मुस्ताङ, दोलखा, गोरखा, कालिकोट र रुकुम पूर्वको नेतृत्व आफ्नो पोल्टामा पारेको छ। ती जिल्लामा सभापतिसहित अन्य पदहरुमा पनि पौडेल समूह बलियो देखिएको छ।
देउवा समूहले हालसम्म हिमाली जिल्लाहरु ताप्लेजुङ, मनाङ, रामेछाप र हुम्लामा जित निकाल्न सफल भएको छ। जिल्ला जिल्लाबाट आएको परिणामबाट पौडेल पक्ष उत्साही देखिएको छ ।

