सरकारले प्रधानन्यायाधीशको बचाउ गर्दै यस्तो भन्यो

सरकारले मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई जोडेर आएको समाचारमा कुनै सत्यता नभएको बताएको छ । सरकारका प्रवक्ता तथा कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायाधीशले मन्त्रीमा आफ्नो भाग खोजेको भन्ने विषय गलत भएको बताएका हुन् ।

‘प्रधानन्यायाधीशको भाग भन्ने विषय जुन किसिमको चर्चा आएको छ, त्यसमा कुनै सत्यता छैन’ कार्कीले भने । त्यस्तै कार्कीले सत्ता गठबन्धनको बैठकले मन्त्रिपरिषद् विस्तार चाँडै टुंग्याउनेबारे छलफल गरेको बताएका छन् । उनले कुन मन्त्रालय कसले राख्ने भन्ने विषयमा छलफल भइसेकेको पनि बताए ।



प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सत्ता गठबन्धन शीर्ष नेताहरुको बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल भएको थियो । यस्तै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मन्त्री बनाउने विषय कार्यपालिकाको भएको र त्यसमा प्रधानन्यायाधीको कुनै पनि हात नभएको बताएका थिए ।

सर्वोच्च बार एसोसिएनका अध्यक्ष पूर्णमान शाक्यसहित पदाधिकारीले सोमबार प्रधानन्यायाधीशले मन्त्रायल बाँडफाँटका विषयमा भाग खोजेको भन्ने विषयमा आएको समाचारप्रति ध्यानाकर्षण गराउन गएको टोलीसँग प्रधानन्यायाधीशले सो कुरा बताएका थिए ।

सम्बन्धित समाचार