नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ असाेज ।

सरकारले रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन पहिलो संशोधन निर्देशिका २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन पहिलो संशोधन निर्देशिका २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको हो ।
त्यस्तै मन्त्रिपरिषद् बैठकले नेपाल प्रशासन सेवा तर्फको राजपत्रांकित विशिष्ट श्रेणी पदमा सहसचिव रविलाल पन्तलाई बढुवा गर्ने निर्णय गरेको छ । त्यसैगरी, वैदेशिक रोजगार न्यायाधिकरणको रिक्त सदस्यमा सहन्यायाधिवक्ता डा। गोपिचन्द्र भट्टराईलाई तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
मन्त्रिपरिषद्ले विद्युतिय राहदानी बुकलेटमा उल्लेख हुने सुरक्षा विशेषताहरु सेक्युरिटी फिचर्स स्वीकृत गर्ने लगायतको निर्णय पनि गरेको छ । त्यसैगरी बैठकले परराष्ट्रमन्त्रीको नेतृत्वमा असंलग्न आन्दोलनको उच्चस्तरीय बैठकमा सहभागी हुने नेपाली प्रतिनिधि मण्डलको गठन गर्ने निर्णय पनि गरेको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि मन्त्रिमण्डललाई पूर्णता दिने तयारी भएको जानकारी दिएका थिए ।

