नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ असाेज ।

सत्तारुढ गठबन्धनका दलहरुबीच मन्त्रालय बाँडफाँटमा सहमति जुटेसँगै दलहरु मन्त्री छान्न व्यस्थ छन् । आज बसेको गठबन्धनको बैठकले दलहरुले पाउने मन्त्रालयको संख्या र मन्त्रालयको नाम टुंगो लगाएको थियो ।
सहमतिअनुसार सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले अब सञ्चार तथा सूचना प्रविधि, स्वास्थ्य तथा जनसंख्या र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय पाउने भएको छ । कांग्रेसबाट यसअघि नै प्रधानमन्त्री, तीन मन्त्री र एक राज्यमन्त्री बनिसकेका छन्। काँग्रेसमा अव रामचन्द्र पौडेल पक्षले २ र कृष्ण सिटौला पक्षले १ मन्त्रालय पाउने भएको छ । सिटौलाको तर्फबाट उमकान्त चौधरी मन्त्री बन्ने टुंगो लागेको भएपनि पौडेल पक्षबाट भने दिलेन्द्र बढु, सुजता कोइराला र मीनेन्द्र रिजालले आकाँक्षा देखाइरहेका छन् ।
आजको छलफलबाट कांग्रेसले समग्रमा ६ वटा र अन्य तीन दलले ५–५ वटा मन्त्रालय पाउने सहमति भएको नेताहरुको भनाइ छ। गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेकोमा जनस्तरबाटै चर्को आलोचना हुँदै आएको छ ।

