नवकान्तिपुर संवाददाता
काठमाडौं, २० असाेज ।

सर्वोच्च अदालतले तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको प्रमाणपत्रका विषयमा डा। गोविन्द केसीले दिएको अभिव्यक्तिसम्बन्धी मुद्दामा अदालतको अवहेलना नभएको फैसला गरेको छ । न्यायाधीश दीपककुमार कार्की, डा आनन्दमोहन भट्टराई, हरिकृष्ण कार्की, मीरा खड्का, प्रकाशमान सिंह राउत, ईश्वर खतिवडा र विश्वम्भरप्रसाद श्रेष्ठको बृहतपूर्ण इजलासले गत माघ २३ गतेको फैसलाको आज सार्वजनिक गरेको पूर्णपाठमा अवहेलना नभएको ठहर गरेको हो ।
फैसलामा शक्तिको प्रयोग गर्दा संविधानप्रदत्त हक र स्वच्छ सुनुवाइका मान्यताहरूबारे समेत गहिरिएर विचार गरी सन्तुलित र सहिष्णु दृष्टिबाट निष्कर्षमा पुग्नुपर्ने उल्लेख छ ।
फैसलामा भनिएको छ, ‘अवहेलना भयो भनी उठाइएका विषयमध्ये कान्तिपुर दैनिकद्वारा प्रकाशित समाचारले अदालतको अवहेलना भयो भन्ने आधारको पुष्टि नगरेको र प्राडा गोविन्द केसीउपरको कारबाहीको हकमा उहाँद्वारा प्रकाशित विज्ञप्ति र अभिव्यक्ति अशोभनीय देखिए पनि उहाँविरुद्धको कारबाहीमा स्वच्छ सुनुवाइको सिद्धान्तको सही रूपमा अनुशरण गरिएको नपाइँदा दोषी ठहर गर्न नमिल्ने भएबाट अवहेलनामा सजाय हुनुपर्छ भन्ने दाबी पुग्न नसक्ने भई दुवै दाबी खारेज हुने ठहर्छ ।’

