नवकान्तिपुर संवाददाता
काठमाडौं, २० असोज ।
नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ । छापावाल सुन मंगलबार प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ९०० रुपैयाँ तोकिएको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ४५० कायम गरिएको छ, जुन मंगलबार प्रतितोला ८९ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीको मूल्य स्थिर रहँदै मंगलबारकै मूल्य अनुसार प्रतितोला १ हजार १६० रुपैयाँ तोकिएको छ ।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७५३ दशमलव ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासंघले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ ।