नवकान्तिपुर संवाददाता
काठमाडौं, २० असोज ।
नेपाल राष्ट्र बैङ्कले आज रु २० अर्ब बराबरको रिपो जारी गर्ने भएको छ । बैङ्क तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन बैङ्कले १४ दिन अवधिको रिपो जारी गर्न लागेको हो ।
बैङ्किङ प्रणालीमा तरलताका समस्या देखिएमा बैङ्कले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ । बैङ्क तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिएकाले राष्ट्र बैकले १४ दिनको रिपो जारी गर्न लागेको जनाएको छ । वाणिज्य बैङ्क, विकास बैङ्क र वित्तीय संस्थाले कात्तिक ३ गते परिपक्व हुने रिपो आज बोलकबोलमार्फत खरिद गर्न सक्नेछन् । यसअघि बैङ्कले गत असोज १३ गते रु ३० अर्ब रिपोमार्फत बजारमा पठाएको थियो ।
तरलता अभावमा बैङ्क तथा वित्तीय संस्थाले रिपो, अन्तर बैङ्क सापटी, स्थायी तरलता सुविधा (एसएलएफ) प्रयोग गर्दछन् ।