मन्त्रीको नाम टुंग्याउन पौडेल समूहको बैठक बस्दै

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बैठक बोलाएको छ । आज(बुधबार) दिउँसो २ बजे पौडेल निवास बोहोराटारमा बस्न लागेको बैठकले पौडेल समूहबाट सरकारमा सहभागी हुने मन्त्रीको नामको विषयमा छलफल हुने जनाएको छ ।

पौडेल समूहको भागमा दुईवटा मन्त्रालय परेका छन् । पौडेल समूहमा मन्त्रीका लागि पाँच जनाको नाम छलफलमा प्रस्ताव गरिएको छ । जसमा सुजाता कोइराला, डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, तेजुलाल चौधरी र राजन केसी रहेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेपछि पौडेल समूहले मन्त्रीको नाम छनोट गर्न बैठक बोलाएको हो । त्यस्तै कृष्णप्रसाद सिटौला समूहबाट उमाकान्त चौधरीको नाम सिफारिस भएको जनाइएको छ ।



नेपाली कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले गत असार २९ गते प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका थिए । त्यसयता करिब तीन महिनाको अवधिमा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । अहिले सरकारमा पाँच मन्त्री र एक राज्यमन्त्री मात्र छन् । मन्त्रिपरिषद्लाई चाँडो पूर्णता दिन प्रधानमन्त्री देउवालाई पार्टीभित्रैबाट दबाब छ ।

 

 

सम्बन्धित समाचार