नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ असोज ।

नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन्। दल विभाजनको समयमा एमालेमै बसेका उनी आज (बिहीबार)एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।
जोशीलाई समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले पार्टी प्रवेश गराएका हुन् । जोशीले असोज २० गते एमालेबाट समाजवादी पार्टीमा प्रवेश गरेका हुन् । उनले एमाले केन्द्रीय सदस्यबाट राजीनामा दिएको पत्र बाचन गरेका थिए । १० बुँदे सहमति र अन्तरपार्टी निर्देशन (अपानी) कार्यन्वयन नगरेको भन्दै उनले एमालेबाट राजीनामा दिएको बताए ।
दल रोज्न निर्वाचन आयोगले प्रदेश र संघका निर्वाचित जनप्रतिनिधिहरुलाई दिएको भदौ २२ को समयसीमाभित्र नै उनले एकीकृत समाजवादी रोज्ने बताएका थिए। तर, उनी एमालेमै बसे। उनी एमालेमै बसेपछि एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको इन्चार्ज पनि तोकेको थिएन। अन्तिममा एकीकृत समाजवादीले गरिमा शाहलाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज बनाएको थियो।

