नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ असोज।

सत्तारुढ गठबन्धनमा मन्त्रालय भागबण्डा मिलेपछि आज (शुक्रबार) मन्त्रिपरिषद् विस्तार हुँदैछ । प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् । प्रधानमन्त्री देउवा निकट स्रोतका अनुसार शुक्रबार अपराह्न ४ बजे नवनियुक्त मन्त्रीहरुलाई शपथ गराइने छ।
प्रधानमन्त्री बनेको ३ महिनापछि देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका हुन् । बिहीबारको सहमतिअनुसार नेपाली कांग्रेसले प्रधानमन्त्रीसहित ९ मन्त्री र २ राज्यमन्त्री पाउने भएको छ। यस्तै, माओवादी केन्द्रले ५ मन्त्री तथा १ राज्यमन्त्री, एकीकृत समाजवादीले ४ मन्त्री तथा जनता समाजवादी पार्टीले ४ मन्त्री पाउने भएका छन् ।
सहमितअनुसार कांग्रेसले गृह, परराष्ट्र, रक्षा, सञ्चार तथा सूचना प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति, युवा तथा खेलकुद, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय पाउने भएको छ। यस्तै, नेकपा माओवादी केन्द्रले अहिले भएका अर्थ एवम् उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसहित थप भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, शिक्षा, विज्ञान तथा प्रविधि र खानेपानी मन्त्रालय पाउने भएको छ।
नेकपा एकीकृत समाजवादीले स्वास्थ्य तथा जनसंख्या, सहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाउने भएको छ। जनता समाजवादी पार्टी (जसपा)ले संघीय मामिला तथा समान्य प्रशासन, भौतिक पूर्वधार तथा यातायात, वन तथा वातावरण र कृषि तथा पशुपंक्षी मन्त्रालय पाउने भएको छ।

