नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ असाेज ।

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले मानिस बस्नलायकको शहर बनाउने बताएकी छन्। मन्त्री झाँक्रीले स्मार्ट सिटीको अवधारणाको विकास भइरहेको अवस्थामा शहर मान्छेका लागि बनाउने बताइन्। नेपाल (एकीकृत समाजवादी) तनहुँद्वारा आयोजित जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बस्नलायकको शहर बनाउन योजनासहित अगाडि बढ्ने बताएकी हुन्।
प्रकृतिमा भएका प्रत्येक प्राणी आफूअनुकूल व्यवस्थित स्थानमा बस्नेछन्, बस्न योग्य स्थानमा मात्रै बस्छ, यसकारण शहर बनाउने क्रममा नामको स्मार्ट सिटी होइन, जनसंख्याको बनोट भौगोलिक वातावरणको अध्ययनपश्चात शहरी विकास गरिने अवधारणा अगाडि बढाउनुपर्छ’ उनले भनिन्।
शहर र जनसंख्या धेरै हुँदैमा शहरको विकास नहुने भन्दै धेरै घर बनाउँदैमा मानिस नबस्ने बताइन्। ‘बस्न योग्य मुलुक, बस्न योग्य शहर, बस्न योग्य घर, बस्न योग्य गाउँ चाहिन्छ मान्छेलाई अनि मात्रै शहरी विकास हुन्छ,’ उनले भनिन्।
देशको विकासका लागि राजनीति आवश्यक हुने बताउँदै उनले न्यायोचित राजनीति र व्यवहार गर्न सके विकास सहज हुने बताइन्। मन्त्री झाँक्रीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अहमताले पार्टीलाई अधोगतितर्फ धकेलेर पार्टी फुटमा पुगेको प्रष्ट पारिन्।
उनले भनिन्, ‘एउटा व्यक्तिको प्रकृति, अहमता र एकल निर्णयले गर्दा दुई तिहाइको पार्टी फुटेको हो, अरुलाई आरोप लगाउन सहज छ, तर, केपी ओलीको अहमताले नेकपा एमालेमा लागेका युवाहरूको राजनीति पानीमा मिसिएको छ, एक्लै राज गर्ने प्रवृत्तिले खड्क प्रसाद ओलीलाई सडकमा पुर्याएको हो।’ ओली अहमताले सरकार सञ्चालनको जिम्मेवारीबाट निस्कासन भएको उनले बताइन्।

