पोखरामा चिप्लिए देउवा

विषयको अध्ययन नगरी उत्तेजक भाषण गर्दा प्रधानमन्त्री शेरबहादुर देउवा पनि चिप्लिएका छन्। आइतबार पोखरामा गण्डकी प्रदेशलाई शाक्षर घोषणा गर्ने कार्यक्रम थियो । प्रधानमन्त्री देउवाले पोखरा, नयाँबजारस्थित क्षेत्रीय संग्रहालयमा स्थापित साक्षर प्रदेशको स्तम्भ अनावरण गरे । त्यसपछि सभागृहमा आयोजित औपचारिक कार्यक्रममा प्रधानमन्त्री देउवाले साक्षर घोषणा भएकोमा गण्डकीवासी र गण्डकी सरकारलाई बधाई दिए । उनले ‘देशकै विद्वानले जन्म लिएको ठाउँ गण्डकी पहिलो साक्षर घोषित’ भएको भनेर बधाई दिए ।

तर, देशको प्रधानमन्त्री जस्तो व्यक्ति यसैमा चिप्लिए । गण्डकी देशको पहिलो नभई दोस्रो साक्षर घोषित प्रदेश हो । यसअघि, यही असोज ११ गते बागमती प्रदेश देशकै पहिलो साक्षर प्रदेश घोषणा भइसकेको छ ।



त्यसपछि देउवाले लक्ष्मीप्रसाद देवकोटा र मोतीराम भट्टको जन्म गण्डकीमा भएको र उनीहरू ठूला विद्वान् रहेको बताए । गण्डकीका विद्वान् भनेर नाम लिएका दुई साहित्यकारको जन्म काठमाडौंमा भएको हो ।

गण्डकी प्रदेशलाई पूर्ण साक्षर प्रदेश घोषणा गर्ने औपचारिक कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री देउवाले बोल्ने क्रममा दुई ठाउँमा त्रुटी गरे। सामान्य नेताले बोलेको भए त्यति खोजीको विषय बन्ने थिएन होला। देशकै उच्च ओहदामा रहेका व्यक्ति नै चिप्लिँदा त्यसको चर्चा नहुने कुनै भएन।

सम्बन्धित समाचार