नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ असाेज ।

गण्डकी प्रदेशमा डोबाटे विश्वकर्माले बिनाविभागीय मन्त्रीको शपथ लिएका छन् । सोमबार साँझ प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । विश्वकर्मा ८ साउनमा नै मन्त्री बन्ने पक्का भए पनि अन्तिम समयमा उनको नाम काटिएको थियो । उनको ठाउँमा विन्दुकुमार थापा मन्त्री बनेका थिए । त्यसको चौतर्फी विरोध भएपछि उनलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रीमा नियुक्त गरेका हुन् ।
मन्त्री नियुक्तिमा सल्लाह नगरेको भन्दै गठबन्धनका नेताहरू भने असन्तुष्ट बनेका छन् । ‘मिचेर गएको महसुस भयो । यसरी नै जाने हो भने गठबन्धन के हुन्छ, के हुन्छ’, माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले भने, ‘हामी मुख्य दल, हामीलाई नै थाहा छैन । अरूलाई झन् के थाहा भयो होला र ?’
उनले मन्त्री बन्ने होहल्ला सुनेपछि मुख्यमन्त्रीलाई अहिले शपथ नगराउन आग्रह गरे पनि नमानेको गुनासो गरे ।

