नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ असाेज ।

गृह मन्त्रालयले सरकारी वा सार्वजनिक जग्गा अतिक्रमण गर्ने प्रयास गर्ने जो कोहीलाई कानुन बमोजिम कारबाही हुने चेतावनी दिएको छ । रुपन्देहीको मोतीपुर ओद्योगिक क्षेत्रमा प्रहरीको गोली लागेर ४ जना सुकुम्बासी मारिएको भोलिपल्ट विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले धम्कीपूर्ण विज्ञप्ति जारी गरेको हो ।
मन्त्रालयका सहायक प्रवक्ता दिलकुमार तामाङले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘निर्धारित कानुनी विधि र प्रक्रिया भन्दा बाहिर सरकारी वा सार्वजनिक जग्गा अतिक्रमण गर्ने प्रयास गर्ने जो कोहीलाई कानुन बमोजिम कारबाही हुने व्यहोरा जानकारी गराइन्छ ।’आइतबार मोतीपुर औद्योगिक क्षेत्र अतिक्रमण गरी बसेका सुकुम्बासीमाथि गोली चलाउँदा ४ जनाको मृत्यु र ३० भन्दा धेरै घाइते भएका थिए ।
गृह मन्त्रालयले ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । त्यस्तै नेपालको संविधानको मौलिक हकमा रहेको आवासको हक, भूमिहीन दलितको हक र भूमिहीन सुकुम्बासीको पहिचान गरी बसोबास र जीविकोपार्जनका लागि कृषियोग्य जमिनको व्यवस्था गर्न सरकार प्रतिवद्ध रहेको पनि उल्लेख गरिएको छ ।


