नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ असोज ।
जर्मनी कतारमा हुने फिफा विश्वकप-२०२२ मा छनोट हुने पहिलो टोली बनेको छ । युरोपेली क्षेत्रको छनोट अन्तर्गत सोमबार राति भएको भएको खेलमा नर्थ मेसेडोनियालाई ४ -० ले पराजित गर्दै जर्मनी विश्वकपमा छनोट भएको हो ।
जर्मनीका लागि टिमो वर्नरले दुई तथा काई हाभार्ट र जमल मुसिएलाले समान १-१ गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा जर्मनीले ४ गोल गर्यो । दोस्रो हाफको ५० औं मिनेटमा काई हाभार्ट गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए ।
त्यस्तै टिमो वर्नरले ७० औं मिनेटमा गोल गर्दै जर्मनीको अग्रता दोब्बर बनाए । यस्तै व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा खेलको ७३ औं मिनेटमा वर्नरले गोल गर्दा जर्मनीले ३-० को अग्रता बनायो । त्यसैगरी खेलको ८० औं मिनेटमा जमल मुसिएलाले गोल गर्दै जर्मनीलाई ४-० को सहज जित दिलाए ।
समूह ‘जे’ मा जर्मनी ८ खेलबाट २१ अंक जोड्दै शीर्ष स्थानमा रहँदै दुई खेल अगाबै विश्वकपमा छनोट भएको हो । फिफा वरियतामा १३ औं स्थानमा रहेको जर्मनीले अब लिचेस्टाईन र अर्मेनियासँग खेल्नेछ । ।