नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ असोज ।

पूर्व राजा ज्ञानेन्द्र शाहले देशको तत्कालीन परिस्थितिले हामीलाई बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याए पनि प्रजातन्त्रविनाको राजसंस्था र राजसंस्थाविनाको प्रजातन्त्र हाम्रो जस्तो मुलुकमा सान्दर्भिक हुन नसक्ने बताएका छन् । बडा दशैंको अवसरमा देशवासीमा भिडियो सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।
पूव राजा शाहले प्रजातान्त्रिक, प्रगतिशील या अन्य जुनसुकै विचारप्रति आस्थावान भए पनि राष्ट्रप्रतिको श्रद्धाले सबै नेपालीलाई एउटै मालामा उन्ने विश्वास लिएको बताए । त्यस्तै उनले देश भित्र र बाहिर रहे–बसेका सम्पूर्ण नेपालीहरुमा शान्ति र सुखको लागि शुभकामना व्यक्त गरेका छन् ।
यस्तै उनले कोरोनाको महामारी, अनेक प्राकृतिक विपत्ति, बेरोजगारी, महँगी र अस्थिरताको भूमरीमा फसेका आम नेपालीले सत्य सेवा तथा लोकहितको अनुभूति गर्न पाइरहेका छन् त ? भन्दै प्रश्न गरेका छन् । ‘हाम्रो समाज सनातनिक आदर्श र पुर्ख्यौली पौरखबाट पृथक छैन । तर हाम्रो राजनीति र राजकाजी चालचलन त्यसअनुरुप हुन सकेन ।’
‘लोक कल्याणका हेतु राजनीतिक स्वच्छता, जनप्रियता र जनआकांक्षा पूर्तिको दिव्य मान्यतामा आधारित हुनुपर्ने भए पनि राजनीतिक व्यवस्था आफू, आफ्नो समूह र त्यसभित्रको गुट उपगुटमा अल्झिएको’ सन्देशमा उनले भनेका छन् । ‘शाहवंशीय राज पद्धतिको इतिहासले स्पष्ट गरेको छ, राष्ट्रिय आवश्यकता र जनचाहनाको परिधि बाहिरबाट कुनै पनि समस्याको समाधान खोजेको छैन, खोज्दैन पनि,’ शुभकामना सन्देशमा शाहले भनेका छन्, ‘केही समययता जिम्मेवार एवं देशभक्त नागरिकहरूबाट राष्ट्रको चिन्ताले व्याकुल भई व्यक्त विचारहरूलाई हामीले राष्ट्रिय अनुराग र निष्ठा मात्र प्रकट गरेको नभई आम नेपालीमा राष्ट्रवादी चेतको सञ्चार समेत गराएको रुपमा बुझेका छौं ।’
यस्तै सन्देशमा उनले भनेका छन् ‘अतितका गौरवपूर्ण विधि, व्यवस्थालाई सम्झेर विद्यमानका नमिल्दो स्थितिलाई सुधार्ने सकारात्मक र देश सुहाउँदो राजनीति राज्य व्यवस्थाका सबै क्रियाशील शक्तिहरुबाट सही सोच राख्नु देश र जनताको हितमा उपयुक्त अनुभूति हो भन्ने हाम्रो धारणा छ, देशभन्दा माथि हामी कोही पनि छैनौं । श्री नवदुर्गा भवानीले सबै नेपालीमा राष्ट्र कर्तव्य निर्वाह गर्न सामर्थ प्रदान गरुन्, यही हाम्रो कामना छ । जय नेपाल ।’
