नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ असोज ।
दक्षिण एसियाली राष्ट्रहरुको फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिप अन्तर्गत आज (बुधबार) नेपाल र बंगलादेश भिड्दै छन् । मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने खेल नेपाली समयानुसार दिउँसो ४:४५ बजे हुनेछ ।
पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १-० ले पराजित गरेको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३-२ ले र तेस्रो खेलमा भारतसँग १-० ले पराजित भएको थियो । नेपाल आज जित निकाल्ने योजनामा रहनेछ । आजको खेलमा बराबरी गरे पनि नेपाल फाइनलमा प्रवेश गर्नेछ । नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनल यात्रा तय गर्न सकेको छैन ।
बंगलादेश पनि नेपाललाई पराजित गर्दै फाइनल पुग्ने लक्ष्य राखेको छ । नेपाल ३ खेलमा २ जित र एक हार सहित शीर्ष स्थानमा छ ३ खेलमा ६ अंक जोडेको माल्दिभ्स दोस्रो स्थानमा रहेको छ । नेपालसँग पराजित माल्दिभ्स हेड टु हेडमा पछि रहेको हो । त्यस्तै भारत ३ खेलमा ५ अंक जोड्दै तेस्रो स्थानमा रहँदा ३ खेलमा ४ अंक जोडेको बंगलादेश चौंथो स्थानमा रहेको छ । प्रतियोगिताबाट बाहिरीसकिएको श्रीलंकाले ४ खेलमा १ अंक जोडेको छ ।
साफ च्याम्पियनसिपमा विभिन्न पाँच राष्ट्रको सहभागिता रहेको छ । जसमा आयोजक माल्दिभ्ससहित नेपाल, भारत, बङ्गलादेश र श्रीलङ्का छन् । भुटान कोभिड–१९ का कारणले प्रतियोगितामा सहभागी भएको छैन भने पाकिस्तानले आन्तरिक विवादका कारण पछिल्लो समय अन्तर्राष्ट्रिय फुटबल खेलेको छैन ।
पाँच टोलीले एकापसमा खेलेपछि शीर्ष दुई टोलीले यही असोज ३० उपाधिका लागि भिड्नेछन् । नेपाली टिम पहिलोपटक साफको उपाधि उचाल्ने लक्ष्यसहित माल्दिभ्स पुगेको छ । नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालको प्रमुख लक्ष्य साफ च्याम्पियनसिप जित्ने बताएका छन् । नेपाली टोलीको गोलकिपरमा किरणकुमार लिम्बू (कप्तान), दीप कार्की र विशाल श्रेष्ठ छन् भने डिफेन्डरमा दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल र रोहित चन्द छन् ।
त्यसैगरी मिडफिल्डरमा विशाल राई, सुनिल बल, सुरज ज्यु ठकुरी, नितिन थापा, पुजन उपरकोटी, तेज तामाङ, सुजल श्रेष्ठ, सन्तोष तामाङ, आयुष घलान र कमल थापा छन् भने फरवार्डमा नवयुग श्रेष्ठ, मनिष डाँगी, अन्जन विष्ट, सुमन लामा र आसिस लामा छन् ।