नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ असोज ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बडादशैँ पर्वले नेपाली समाजमा राष्ट्रिय एकताको भावनालाई थप बलियो र विकसित गर्न सहयोग पुग्ने बताएका छन् ।
बडादशैँ पर्वको अवसरका शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री देउवाले नेपाली सांस्कृतिक चाडपर्वले सम्पूर्ण नेपालीको मुहारमा खुसी ल्याउन सकोस् भनेका छन्। उनले असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा हरेक वर्ष मनाइने महान् पर्व दशैँ सम्पूर्ण नेपाली समाजको एकताको मौलिक पहिचान भएको कुरा व्यक्त गरेका छन् ।
उनले सबै जाति, भाषा, धर्म, संस्कृति र सभ्यताको संरक्षण र विकास गर्नु साझा दायित्व भएको बताउँदै बडादशैँलगायतका सांस्कृतिक पर्वले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पुर्याउँदै आएको बताएका छन् । उनले चाडपर्वहरूले नेपाली समाजका मूल्य, मान्यता र संस्कारलाई थप बलियो बनाउन मद्दत पुर्याउने बताए ।

