‘केपी ओली निर्वाचनमा झापामै पराजित हुन्छन्’

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन्।ओली पार्टी र प्रवृत्तिका विरुद्ध एकीकृत समाजवादी स्थापना भएकाले देशभर नेकपा एमाले हराउने चौधरीले बताए। गुल्मीको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै नेता चौधरीले ओली प्रवृत्तिका कारण कम्युनिस्ट आन्दोलन र पार्टी समाप्त हुने स्थिति आएकाले नयाँ पार्टी स्थापना गर्नुको विकल्प नभएको बताए।

उनले केपी ओलीसहितका एमाले नेता जनतासँग भोट माग्न गाउँ आउने कुनै नैतिक आधार नभएकाले केपीको झापादेखि गोकर्ण र प्रदीपका गुल्मीका निर्वाचन क्षेत्रसमेत समाजवादीमय हुने दाबी गरे।

केन्द्रीय सदस्य राज्यलक्ष्मी गैरेले आफूहरूलाई एमालेको माया भए पनि केपी प्रवृत्तिले नयाँ विकल्पको सिर्जना गरेको बताइन्। जीवनको राजनीतिक ऊर्जा एमालेमै सकिए पनि ओलीवादले देशको लोकतन्त्र र संविधानसँगै पार्टी समाप्त पारेपछि एकीकृत समाजवादी स्थापना गरिएको गैरेको भनाइ थियो।

सम्बन्धित समाचार