बाढी-पहिरो अपडेट : १८ जनाको मृत्यु, ३३ सम्पर्कविहीन, कहाँ कति क्षति ?

मनसुन बाहिरिएको हप्ता दिन नबित्दै बेमौसममा परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर १८ जनाको मृत्यु भएको छ। विपद्मा परेर विभिन्न जिल्लाका ३३ जना सम्पर्कविहीन छन्। गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख हुमकला पाण्डेका अनुसार डोटीमा सात, धनकुटामा पाँच, सुनसरीको धरानमा दुई, कालीकोटमा एक र डडेलधुरामा एक जनाको मृत्यु पुष्टि भएको छ। नेपालमा गत असोज ३१ देखि पानी पार्ने प्रणाली सक्रिय भएको थियो। अहिलेसम्म सुदूरपश्चिमलाई नराम्ररी प्रभावित बनाएको छ।

प्रहरी प्रधान कार्यालयले बिहान दिएको विवरणअनुसार इलामको फाकफोकथुम गाउँपालिका–१ ठिङ्गेपुरमा नगबहादुर सेर्माको घरमा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ। धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठका अनुसार चौबीसे गाउँपालिका–१ छनम बुधबारेमा मंगलबार राति पहिरोले भीमबहादुर श्रेष्ठको घर भत्काउँदा ६ जनाको मृत्यु भएको छ। पहिरोमा परेका १२ मध्ये ६ जनाको उद्धार गरिएको छ।



विपद् व्यवस्थापन महाशाखाका महाशाखाका प्रमुख पाण्डेले पहिरोमा परेर हुम्लामा ६‚ बझाङमा २३ सम्पर्कविहीन रहेका जानकारी दिइन्। यस्तै कैलालीमा पनि चार बेपत्ता भएका छन्।

पहिरो खसेर बझाङको थलारा गाउँपालिका–४ मा सात घरका २३ सम्पर्कविहीन भएका हुन्। सो क्षेत्रमा विद्युत् तथा टेलिफोन सम्पर्कसमेत विच्छेद भएकाले घटनाको यकिन विवरण अझै आउन सकिरहेको छैन। हुम्लाका प्रजिअ गणेश आचार्यका अनुसार जिल्लामा आइतबारदेखि परेको पानी अहिले बिहान मात्रै रोकिएको छ। उनले खार्पुनाथ गाउँपालिका–५ खर्पेल गाउँमा मंगलबार राति पहिरो झरेर एक घर पुरिएको र त्यहाँ रहेका ६ जना सम्पर्कविहीन भएका जानकारी प्राप्त भएको बताए।

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीका अनुसार बाढी, पहिरोका कारण चार सम्पर्कविहीन भएका र उनीहरुको खोजी जारी छ। जिल्लाका ३०० घर प्रभावित भएको उनले जानकारी दिए। अन्य विभिन्न जिल्लामा ठूलो भौतिक क्षति भए पनि यकिन विवरण आइसकेको छैन। अहिले उद्धार कार्यमा मुलुककै ध्यान केन्द्रित भएको र बेपत्ताको खोजीका लागि तीनवटै सुरक्षा निकाय, स्थानीय प्रशासन तथा समुदाय सक्रिय रहेको महाशाखा प्रमुख पाण्डेले जानकारी दिइन्।

कैलालीमा फसेका नौजनाको हेलिकप्टरबाट उद्धार गरिएको छ। स्थलमार्गबाट समेत उद्धार कार्य जारी रहेको र अहिलेसम्म कञ्चनपुरलगायत जिल्लाबाट ७०० लाई उद्धार गरी सुरक्षित ठाउँमा पुर्‍याइएको गृहमन्त्रालयले जनाएको छ।

प्राप्त विवरणमा बाढी पहिरो र डुबानबाट मुलुकका १९ जिल्ला प्रभावित भएको छ। त्यसमध्य १५ जिल्लाका अधिकांश राजमार्ग तथा धेरै ठाउँमा विद्युत् र फोन सेवासमेत अवरुद्ध भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए। उनले उद्धार, राहत तथा अस्थायी बसोबासको व्यवस्थापन कार्य पनि सँगसँगै भइरहेको जानकारी दिए।

प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले प्रभावित क्षेत्रमा रातिमा समेत खटिएर प्रहरीले उद्धार कर्यालाई तीव्रता दिइरहेको र यो क्रम जारी रहेको जानकारी दिए। अहिलेको वर्षाले किसानको भित्रिन लागेको धानबालीलाई समेत नराम्ररी प्रभावित बनाएको छ।

सम्बन्धित समाचार