देउवा सरकारका सय दिन : काममा सुस्त, विवादमा अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले आज एकसय दिन पूरा गरेको छ । गएको असार २८ गतेको सर्वोच्च अदालतको परमादेशअनुसार असार २९ गते कांग्रेस सभापति देउवाको नेतृत्वमा पाँच दलीय संयुक्त सरकार गठन भएको हो । यस अवधिमा खोप व्यवस्थापनमा राम्रो काम गरे पनि संझन लायक अरु काम भएका छैनन् ।

मन्त्रिपरिषद् गठनमा विलम्ब गरेका देउवाले प्रधानमन्त्रीमा नियुक्त भएको सय दिनसम्म पनि आफ्नै सचिवालय गठन गर्न सकेका छैनन् । अहिलेसम्म स्वकीय सचिव र प्रशासनिक सल्लाहकार नियुक्त भए पनि राजनीतिक, आर्थिक, सूचना–प्रविधि, प्रेस, परराष्ट्र लगायतका सल्लाहकार नियुक्त हुन बाँकी छ । मन्त्रिपरिषदलाई पूर्णता दिन नै ८८ दिन लाग्यो । नियुक्त भएको ८८ दिनमा बल्लबल्ल मन्त्रिपरिषदलाई पूर्णता दिए पनि मन्त्री नियुक्तिको विषयमा कांग्रेस लगायतका दलहरुमा विवाद छ । यस्तै सांसद नै नरहेका प्रधानन्यायाधीशका आफन्त गजेन्द्रबहादुर हमाललाई उद्योगमन्त्रीमा नियुक्त गरेपछि चौतर्फी विरोध भयो । विरोध र आलोचना बढ्दै गएपछि हमालले तीन दिनमै मन्त्री पदबाट राजीनामा दिए।



साउन ३२ गते संसद अधिवेशन अन्त्य गरेर भदौ १ मा राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएकोमा पनि देउवा सरकारको आलोचना भैरहेको छ । एमालेबाट माधव नेपाल र जसपाबाट महन्थ ठाकुर समूहलाई छुट्टिएर नयाँ पार्टी गठन गर्न सहज हुने गरी अध्यादेश ल्याइएको थियो । दल विभाजन गर्ने उदेश्य पूरा भएपछि अध्यादेश फिर्ता गरिएको छ । गएको साउन १५ गते दार्चुलामा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन काटिदिँदा जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनामा देउवा सरकारले कुटनीतिक पहल गर्न सकेन । धामीलाई न्याय र दोषीमाथि कारबाही गर्न भारतसँग कुटनीतिक पहल नगरेको भन्दै आलोचना भैरहेको छ ।

यस्तै हुम्लामा सीमा समस्या अध्ययन गर्न समिति गठन गरेर चीनलाई चिढ्याएको भन्दै देउवा सरकारको आलोचना भएको छ । सरकारले गएको भदौ १६ मा हुम्लाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमा समस्या अध्ययन गर्न भन्दै समिति गठन गरेको थियो । समितिले सरकारलाई प्रतिवेदन बुझाए पनि सार्वजनिक गरिएको छैन ।

नियुक्त भएको ६० दिनमा सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने नियम भए पनि अहिलेसम्म श्रममन्त्री किसनकुमार श्रेष्ठले मात्रै सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । प्रधानमन्त्री र मन्त्रीहरुले अहिलेसम्म सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् ।

सय दिनमा गर्नैपर्ने काम हुन नसकेको भन्दै आलोचना भैरहे पनि प्रधानमन्त्री र मन्त्रीहरुले भने सय दिन उपलब्धिमुलक भएको दाबी गरेका छन् । सरकारले सय दिन पार गरेको अवसरमा एक अन्तर्वातामा प्रधानमन्त्री देउवाले सरकारलाई परमादेश र जनादेश प्राप्त भएको तथा संविधान र लोकतन्त्रलाई सही मार्गमा फर्काएको दाबी गरेका छन् ।

सम्बन्धित समाचार