नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ कात्तिक ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब दसबुँदे सहमतिको औचित्य नभएको बताएका छन्। बुधबार पार्टीको बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको बैठकमा उनले माधवकुमार नेपाल आउँछन् कि पार्टी फुटाउँदैनन् कि भनेर १० बुँदे गरिएको अब त्यसको औचित्य नभएको बताएका हुन्। ‘अब १०बुँदे १० बुँदे भनिरहन आवश्यक छैन’, ओलीले भने, ‘माधव आउँछ कि पार्टी फुटाउँदैन कि भनेर १० बुँदे गरियाथ्यो अब केको १० बुँदे।’
तत्कालीन एमालेभित्र वरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष केपी शर्मा ओलीबीच मतभेद चर्किंदा सहमतिका लागि दुवै समूहका नेता सम्मिलित कार्यदल बनाइएको थियो। र, त्यसले एकताका लागि १० बुँदे सहमति जुटाएको थियो। तर अन्ततः त्यसका सबै बुँदाप्रति आफ्नो सहमति नरहेको भन्दै माधव नेपालले एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका हुन्।
अन्तिम समयमा भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराईलगायत दोस्रो पुस्ताका १० नेता त्यही दसबुँदे कार्यान्वयनको अपेक्षामा माधव नेपालको साथ छाड्दै ओली पक्षमै समाहित भएका हुन्। अहिले पनि भीम रावलले बेलाबेला दसबुँदे कार्यान्वयनको कुरा उठाउने गरेका छन्। दसबुँदे सहमतिअनुसार एमालेलाई २०७५ जेठ २ कै संरचनामा फर्काउने भनिए पनि रामबहादुर थापा बादललगायत माओवादी केन्द्रबाट आएका नेताहरूलाई उही पदमा राख्नेलगायत पछिल्लो निर्णयलाई नै ओलीले कायम राखेका छन्।

