नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ कात्तिक ।

बेमौसमी वर्षासँगै आएको बाढीपहिरोका कारण १०१ जनाले ज्यान गुमाएका छन् । आइतबारदेखिको वर्षाका कारण बाढीपहिरो जाँदा १०१ जनाले ज्यान गुमाएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरी प्रवक्ता वसन्त कुँवरले ४० जना बेपत्ता भएको र २६ जना घाइते भएको जानकारी दिए । ‘अहिलेसम्म १०१ जनाको मृत्यु भइसकेको छ । बेपत्ताको खोजिकार्य जारी छ । घाईतेहरूको उद्धार कार्य पनि जारी छ,’ उनले भने ।
आजै प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो पीडितहरुका लागि सरकारले चाँडै राहत प्याकेज ल्याउने बताएका छन्। आज निरीक्षणका क्रममा सुर्खेत, डोटी, बझाङ, बैतडी हुँदै गृहजिल्ला डडेल्धुरा पुगेका देउवाले सरकारले चाँडै राहत प्याकेज ल्याउने बताएका हुन्।

