एउटा सन्काहा शासकको ‘गिनिज बुक’मा नाम लेखाउने रहरले ३ वर्ष खेर गयो : गगन थापा

नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले सरकारको काम कारबाहीप्रति असन्तुष्टि जनाएका छन् । नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले आज (शुक्रबार) काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता थापाले सरकारले आफ्नो काममा गति पक्रन नसकेको बताए ।

नेता थापाले दुई छिमेकी मुलुक भारत र चीनबाट फाईदा लिने मौका नचुकाउन पनि सरकारको ध्यानाकर्षण गराए । उनले भने, ‘यो सरकारले जुन गति पक्रनुपर्ने हो, त्यो गति हामीले पक्रन सकेका छैनौं । त्यसैले डर लागेको छ, नेपाली नागरिक भएर । जसरी हामीले २००७ सालपछिको समय खेर फाल्यौँ । फेरी हामीले अब अर्को मौका खेर फाल्दै छौ कि भन्ने डर लाग्न थालेको छ । यो बेला सम्हालिनुपर्नेछ ।’



‘आजको दिन भारत र चीनलाई केन्द्र बनाएर चाहे राजनीति होस् अझ खास गरेर वर्ल्डको ईकोनोमी सबै गतिविधि कहाँ छ, चीन र भारत केन्द्रित छ । यसभित्र नेपालले लाभ लिन सक्यो भने सक्यो, नत्र फेरि एक पटक मौका छुट्छ’ थापाले भने । थापाले एउटा सन्काहा शासकलाई गिनिज बुकमा नाम लेखाउने रहर चढ्दा ३ वर्ष खेर गएको टिप्पणी गरे ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै सांसद थापाले भने, ‘२०६२ सालमा आन्दोलन भयो । त्यसमा हामी सहभागी भएर आएका छौं । १०-१२ वर्ष राजनीतिक संक्रमणको चरणमा गयो । व्यवस्थापनमा गयो । २०७४ सालमा चुनाव भयो । हामी हार्‍यौं । एउटा राजनीतिक दल चुनाव कहिले जित्छ कहिले हार्छ कुनै ठूलो कुरा भएन । तर, लामो समयको अनुभव पछाडि संविधान ल्याएर नयाँ चरणमा प्रवेश गर्‍यौं भनेपछि फेरि नेपालले अर्को मौका पाएको फेरि २०७४ सालबाट एउटा सन्काहा शासकलाई गिनिज बुकमा नाम लेखाउने रहर चढ्दा तीन वर्ष खेर गयो ।’

त्यस्तै थापाले प्रधानमन्त्री शेरबहादुर देउवालाईविद्युत खपत बढाउने विषयमा सोच्न पनि आग्रह गर्दै विद्युत खपत बढाउने बेला आएको र त्यसका लागि सरकारले योजनावद्ध सोच अगाडी ल्याउन ढिलाई गर्न नहुने बताए । नेता थापाले नेपाल विद्युत प्राधिकरणले आर्जन गरेको प्रतिष्ठा जोगाउने गरी काम गर्न प्राधिकरणका कर्मचारीलाई आग्रह गरे। उनले देशलाई बनाउने हो भने सबैले आ-आफ्नो ठाउँको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नुपर्ने आवश्यकता औंल्याए।

यो पनि पढ्नुस :बाबुरामको नजरमा गिनिज बुकमा लेखाउन लायक ओलीले गरेका ५ काम

सम्बन्धित समाचार