गोरेलाई थप १० वर्ष कैद, सनमको परिवारलाई १३ लाख क्षतिपूर्ति

मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरण तथा करिब ३८ क्‍विन्टल सुन तस्करी मुद्दामा मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेलाई सजाय निर्धारण गरिएको छ। जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले गोरेलाई अपहरण तथा शरीर बन्धक मुद्दामा थप १० वर्ष कैद, एक लाख जरिवाना र मृतक सनम शाक्यको परिवारलाई १३ लाख ११ हजार क्षतिपूर्ति भराउने गरी सजाय निर्धारण गरेको अदालतका श्रेस्तेदार टिकेन्द्रबीरजंग राणाले बताए।

उनका अनुसार मुद्दा दर्ता भएदेखि सजाय निर्धारण भएको मितिसम्म दैनिक एक सयका दरले १३ लाख ११ हजार रुपैयाँ क्षतिपूर्ती भराउने गरी फैसला भएको हो। सुन तस्करी प्रकरणमा सफाई पाएका गोरेलाई शाक्यको हत्या अभियोगमा दोषी ठहर गर्दै अदालतले गत असोज १९ गते जन्मकैद फैसला सुनाएको थियो।



फैसलामा अपहरण तथा शरिर बन्धक मुद्दामा दोषी ठहर गरेपनि सजाय निर्धारण गरेको थिएन्। गत असोज १९ गते करिब ३८ क्‍विन्टल सुन तस्करी प्रकरणका मुख्य आरोपी गोरेसहित ५६ जना प्रतिवादीलाई जिल्ला अदालत मोरङले सफाई दिएको थियो। शाक्य हत्या र सुन तस्करी प्रकरणमा ७७ जनालाई प्रतिवादी बनाइएको थियो। ती मध्ये २१ जना अझै फरार छन्। फरार रहेकाहरुको मुद्दा मुल्तबीमा राखिएको छ।

२०७४ माघ ९ गते आयात भएको साढे ३३ किलो सुन हराएपछि खोजी गर्ने क्रममा गोरेसहितको समूहले फागुन १८ गते सनम शाक्यको हत्या गरेको दाबी सरकार पक्षको थियो। तर सुन तस्करीको ठोस प्रमाण नभेटिएको उल्लेख गर्दै अदालतले सफाइ दिएको हो।

२०७४ साल माघ ९ गते गोरेको समूहले दुबईबाट तस्करी गरेर काठमाडौं ल्याएको साढे ३३ किलो सुन त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निकाल्ने क्रममा गायब बनाइएको थियो। सुन गायब बनाएको आरोपमा गोरेसहित उनको समूहले २०७४ साल फागुन १८ गते करेन्ट लगाएर यातना दिँदै मोरङको उर्लाबारी नगरपालिका–१ का सनमको हत्या गरेको हो।

सम्बन्धित समाचार