कर्णालीमा माओवादी सरकारलाई दिएको समर्थन फिर्ता लिने कांग्रेसको चेतावनी

नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकार नछाड्ने अडान लिएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यसअघि आधा कार्यकाल नेपाली कांग्रेसलाई छोड्ने सहमति गरेका थिए। त्यहीअनुसार दशैंलगत्तैदेखि उनले मुख्यमन्त्रीबाट राजीनामा दिने र कांग्रेसका जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बनाउने कांग्रेसको तयारी थियो।

माओवादीले गठबन्धन सरकार निर्माण भएपछि पुनः नयाँ तरिकाले सहमति गरेर जानुपर्ने भन्दै सरकार छाड्न आनाकानी गरेको छ। नेपाली कांग्रेसले भने मुख्यमन्त्रीले राजीनामा नदिए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ। नेपाली कांग्रेस कर्णाली प्रदेश सभाका सचेतक हिमबहादुर शाहीले मुख्यमन्त्रीले राजीनामा नदिए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिए।



माओवादी सहमतिबाट पछाडि हटेमा मन्त्रीबाट राजीनामा दिएर समर्थन फिर्ता लिने चेतावनी शाहीले दिए। गत शनिबार माओवादी केन्द्रको कर्णाली प्रदेशको विस्तारित बैठकले तत्काल प्रदेश सरकार नछाड्ने निर्णय गरेको प्रदेश सचिव रामदीप आचार्यले बताए।

माओवादीको कर्णाली प्रदेश कमिटी अन्य प्रदेश सरकार छाडेर भएपनि कर्णाली सरकार जोगाउने पक्षमा उभिएको छ। प्रदेश सभामा हाल ३५ जना मात्रै सांसद कायम छन्। जसमा एमालेका १३, माओवादी केन्द्र १२, कांग्रेस ६, एकीकृत समाजवादी ३ र राप्रपाका एक जना छन्।

सम्बन्धित समाचार