नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ कात्तिक ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको भूमिकासँग असन्तुष्ट न्यायाधीशहरूले जबराको राजीनामालाई नै ‘बटमलाइन’ बनाउने भएका छन् । उनीहरूले आज प्रधानन्यायाधीश जबरासँग भेटेर उनको कुरा सुन्ने र निकास दिन आग्रह गर्ने भएका हुन् ।
न्यायालयमा देखिएका समग्र समस्याको जड न्यायिक नेतृत्व भएको निष्कर्षमा पुगेका न्यायाधीशहरूले उनलाई घुमाउरो भाषामा ‘राजीनामा गर्नुस्’ भन्न लागेका हुन् । ‘प्रधानन्यायाधीशको राजीनामा नै बटमलाइन हो, स्रोतले भन्यो, ‘उहाँलाई सामूहिक रूपमै भेटेर मार्गप्रशस्त गर्नुस् भन्ने निर्णय भएको छ ।’
आज बिहान साढे ११ बजे प्रधानन्यायाधीशसँग सामूहिक छलफल हुँदैछ । यसअघि सोमवारको बैठकमा १३ जना न्यायाधीश सहभागी थिए । अघिल्लो बैठकमा उपस्थित भएका न्यायाधीश नहकुल सुवेदी पारिवारिक कारणले उपस्थित भएनन् ।
बैठकमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, डा। आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र मनोजकुमार शर्मा सहभागी थिए ।
यसअघि १४ न्यायाधीशको आइतवार बसेको बैठकले प्रधानन्यायाधीशले समस्याको निकास दिनुको साटो विषयान्तर गर्न खोजेको निष्कर्ष निकालेको थियो । सोमबार इजलास बहिस्कार गरेका उनीहरुले राजीनामा नआएसम्म यसले निरन्तरता पाउने बताएका छन् ।

