नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ कार्तिक ।
एएफसी यू -२३ एसियन कप छनोट अन्तर्गतको पहिलो खेलमा नेपाल पराजित भएको छ । सोमबार भएको खेलमा इरानले नेपाललाई ४-० ले पराजित गरेको हो ।
ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा इरानले ४ गोल गरेको थियो । इरानलाई फराकिलो जित दिलाउन होसेनले दुई गोल गरे भने मेहदी र यासिनको नाममा समान १-१ गोल रह्यो ।
दोस्रो हाफको ४६ औं मिनेटमा मेहदीले गोल गर्दै इरानलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ७७ औं मिनेटमा होसेनले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । यस्तै व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा होसेनले खेलको ७९ औं मिनेट गोल गर्दै इरानलाई ३-० को अग्रता दिलाए ।
त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा कप्तान यासिनले गोल गर्दै इरानलाई ४-० को सहज जित दिलाए । जितसँगै समूह ‘बी’ मा रहेको इरान ३ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । अब नेपालले दोस्रो खेलमा ताजिकिस्तानसँग अक्टोबर २८ र अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्ने छ ।
११ समुहमा रहेको छनोटका शीर्ष टोली सहित दोस्रो स्थानमा रहेका उत्कृष्ट चार टोलीले एएफसी यू –२३ एसियन कप खेल्नेछन् । फाइनल चरणको प्रतियोगिता सन् २०२२ को जुन १ देखि १९ सम्म उज्वेकिस्तानमा आयोजना हुँदैछ।