नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ कार्तिक ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समय खेर फाल्नुभन्दा निर्वाचनमा जानु राम्रो भएको बताएका छन् । प्रेस चौतारी मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उनले अदालत लोकतन्त्रको स्तम्भ भएको हुँदा यो निष्पक्ष, स्वतन्त्र र शक्ति पृथीकरणको सिद्धान्तमा चल्नुपर्छ भने ।
पूर्वप्रधानमन्त्री ओलीले भने ‘ सर्वोच्च अदालत संविधानको भावना र मर्मअनुसार चल्नुपर्ने पर्छ । कुनै एउटा सानो समूहबाट वर्तमान प्रणालीमाथि प्रहार भइरहेको छ ।’ ‘हाम्रो चिन्ता सर्वोच्च अदालतलाई जनताले विश्वास गर्ने, राज्यको एउटा विश्वसनीय र महत्वपूर्ण अङ्गको रुपमा राख्ने हो,’ ओलीले भने, ‘हामीलाई दाउपेचमा पस्नु छैन । सर्वोच्च अदालतभित्रको अशोभनीय गुटबन्दीमा पस्नु छैन ।’
त्यस्तै ओलीले प्रधानन्याधीश सुशीला कार्कीको पालादेखि नै सर्वोच्च अदालत विवादित बनेको आरोप लगाए । यस्तै ओलीले अहिलेको सरकार असफल भएको भन्दै तीन महिनासम्म सरकार बनाउन विस्तार गर्न नसक्ने सरकार फेल भएको दाबी गरे ।

