नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ कार्तिक ।
पछिल्लो चौबीस घण्टामा नेपालमा ६६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ११ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १२ हजार २० जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ९ हजार ७७१ पीसीआर परीक्षणमा ५६९ जना र दुई हजार २४९ एन्टिजेन परीक्षणमा ९७ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै, चौबीस घण्टामा ११ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ३७२ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ६२२ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ७ लाख ८८ हजार ६३० जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या १० हजार २९६ रहेको छ । जसमा ९ हजार ५१२ जना होम आइसोलेसनमा छन् भने ७८४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै २५२ संक्रमित आईसीयूमा र ८० जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख १० हजर २९८ र एन्टिजेन विधिबाट ९४ हजार २१५ जना पुगेको छ ।