अष्टलक्ष्मीको पक्ष र विपक्षमा आज मतविभाजन हुने, राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्दै

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको भाग्यको फैसला आज हुँदैछ । विश्वासको प्रस्तावमा बुधबार प्रदेशसभामा मतविभाजन गरिने भएको छ । दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत विभाजनका गर्न सबै तयारी पूरा गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

मतदानका लागि सत्तापक्ष र प्रतिपक्षलाई छुट्टाछुट्टै कक्षको व्यवस्था मिलाइएको र अधिकृतसहितका कर्मचारी खटाइने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।



मुख्यमन्त्री शाक्यले राखेको विश्वासको प्रस्ताव गत ४ मा प्रदेशसभामा टेबुल गरिएको थियो । सत्तारूढ एमाले र विपक्षी गठबन्धनको आन्तरिक विवादका कारण सभामुख सानुकुमार श्रेष्ठले मत विभाजन प्रक्रिया दुई पटक सारेका थिए । प्रदेशसभामा हाल सत्तापक्ष एमालेका ४३ सांसद छन् ।

विपक्षी गठबन्धनमा रहेका माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जनता समाजवादी पार्टीका १ सांसद छन् । त्यसबाहेक विवेकशील साझाका ३, नेपाल किसान मजदुर पार्टी ९नेमकिपा० र राप्रपाका २ जना छन् । विश्वासको मतका लागि ५५ सांसद चाहिन्छ । विवेकशील साझाले शाक्यलाई विश्वासको मत नदिने बताइसकेको छ । नेपाल मजदुर किसान पार्टी र राप्रपाले कुनै प्रतिक्रिया दिएका छैनन् ।

विपक्षी गठबन्धनले एकीकृत समाजवादीका संसदीय दल नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीका रूपमा अगाडि बनाउने निर्णय गरिसकेको छ । बागमतीमा एकीकृत समाजवादी र कांग्रेसले आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति पनि भएको छ । एमालेका १३ सांसदले नवगठित एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी थिइन् । मुख्यमन्त्री शाक्य भदौ २ मा नेपालकै पहिलो महिला मुख्यमन्त्री बनेकी थिइन् ।

सम्बन्धित समाचार