नवकान्तिपुर संवाददाता
काठमाडौं, १० कात्तिक ।

नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट आन्दोनलमा आफूहरूले विद्रोहको राँको बालेको दाबी गरेका छन् । सर्लाहीमा पत्रकारहरूसँगको भेटघाटको क्रममा अध्यक्ष नेपालले नेकपा (एस)ले समाजवादका मूल्य र मान्यतालाई स्थापित गर्नेसमेत बताए । कम्युनिस्टको नाममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गलत कदम चालेको उनको आरोप थियो ।
नेकपा एमाले अध्यक्ष ओलीले नेता महत्त्वपूर्ण ठानेर अगाडि बढेका तर आफूहरूले सधैँ नीति पहिलो भन्ने फरक मत प्रस्तुत गरेको उनले बताए । नेकपा एमाले अध्यक्ष ओलीले आफ्नो स्वार्थका लागि दुई तिहाइको सरकारलाई आफैँले कमजोर बनाएको आरोपसमेत नेपालले लगाए ।
ओलीले ठूला कुरा मात्र गरेको उनले दाबी गरे । देशभर एकै पटक विभिन्न कार्यक्रम घोषणा गरेर गिनिजबुकमा नाम लेखाउने काम गरेको उनको भनाइ थियो । धेरै गफ गर्ने गफाडी प्रधानमन्त्रीका रूपमा केपी ओलीको गिनिज बुकमा नाम लेखिने भन्दै नेपालले ओलीको भनाइलाई खिसीट्युरी गर्न पनि भ्याए ।

