नवकान्तिपुर संवाददाता
काठमाडौं, १० कार्तिक ।
युएई र ओमानमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले पहिलो जित हात पारेको छ । मंगलबार भएको खेलमा वेस्ट इन्डिज दक्षिण अफ्रिकासँग ८ विकेटले पराजित हुन पुग्यो ।
प्रतियोगितामा वेस्ट इन्डिजको यो लगातार दोस्रो हार । दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १४३ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि इभिन लेविसले ५६ रनको अर्धशतकीय पारी खेले भने केइरन पोलार्डले २६ रन बनाए । त्यस्तै लेन्डल सिमोन्स १६ रन बनाई आउट भए भने क्रिस गेल र निकोलस पुरनले समान १२-१२ रन जोडे । दक्षिण अफ्रिकाका लागि ड्वाने प्रिटोरिउसले ३ विकेट लिए भने केशव महाराजको भागमा २ विकेट रह्यो ।
१४४ रनको लक्ष्य लिएर मैदान उत्रेको दक्षिण अफ्रिकाले १८ ओभर २ बलमा २ विकेट गुमाउदै पूरा गर्यो । उसको लागि एडिन मार्क्रमले अविजित रहदै ५१ रनको अर्धशतकीय पारी खेले भने रस्सी भान डेर डुसेन ४३ रनमा अविजित रहे । यस्तै रिजा हेन्ड्रिक्सले ३९ रन जोडे । वेस्ट इन्डिजकका लागि अकिल होसेनले १ विकेट लिए ।
जितसँगै दक्षिण अफ्रिकाले २ खेलमा २ अंक जोडेको छ भने वेस्ट इन्डिज अंकविहिन रहेको छ । पहिलो खेलमा दक्षिण अफ्रिका अष्ट्रेलियासँग ५ विकेटले पराजित भएको भने वेस्ट इन्डिज इंग्ल्यान्डसँग ६ विकेटले पराजित भएको थियो । त्यसैगरी मंगलबार भएको दोस्रो खेलमा पाकिस्तानले न्युजिल्याण्डलाई ५ विकेटले पराजित गरेको छ ।
पाकिस्तानको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा भारत पाकिस्तानसँग १० विकेटको भारी अन्तरले पराजित भएको थियो । प्रतियोगिता अन्तर्गत आज दुई खेल हुनेछन् । पहिलो खेलमा बंगलादेश र इंग्ल्यान्ड भिड्दै छन् भने दोस्रो खेलमा नामिबिया र स्कटल्याण्ड आमने सामने हुँदैछन् ।