नवकान्तिपुर संवाददाता
काठमाडौं, १० कार्तिक ।

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छिन् । आज (बुधबार) प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले पदबाट राजीनामा दिएकी हुन् ।
गत भदौ २ गते मुख्यमन्त्री नियुक्त भएकी शाक्यले छोटो समयमा आफूलाई केही उपलब्धिमूलक काम गर्न सबै पक्षबाट सहयोग भएको भन्दै सबैलाई धन्यवादसमेत व्यक्त गरिन् । उनले संविधानको धारा १६९ को उपधारा १ (क) मा भएको व्यवस्था अनुसार आफूले ‘मार्ग प्रशस्त’ गरेको जानकारी दिइन् ।
मुख्यमन्त्री शाक्यले राखेको विश्वासको प्रस्ताव गत कार्तिक ४ मा प्रदेशसभामा टेबुल गरेकी थिइन् । एमालेका १३ सांसदले नवगठित एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी थिइन् । मुख्यमन्त्री शाक्य भदौ २ मा नेपालकै पहिलो महिला मुख्यमन्त्री बनेकी थिइन् ।
प्रदेशसभामा हाल एमालेका ४३, माओवादी २३ र कांग्रेसका २२, नेकपा (एस)का १३, विवेकशील साझा दलका तीन, नेमकिपाका दुई, राप्रपाका दुई र जसपाका एक गरी एक सय नौ सांसद छन् । बागमती प्रदेशको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।

