नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ कात्तिक ।

नेकपा एमालेको स्थायी समिति बैठक आज बस्दैछ । च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा अपराह्न ४ बजे बैठक सुरु हुने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
उनका अनुसार आजको बैठक राष्ट्रिय महाधिवेशन तयारीमै केन्द्रित रहनेछ । महाधिवेशनको प्रक्रिया अनुसार एमालेले देशभर कात्तिक ६ गते वडा र ९ गते पालिका अधिवेशन सम्पन्न गरेको छ ।
आजको बैठकले पार्टीको आसन्न महाधिवेशनका लागि प्रतिनिधि छनोटको मापदण्ड निर्माण गरिने पनि उनले जानकारी दिए । एमालेको महाधिवेशन मंसिर १० गतेबाट चितवनमा हुँदैछ ।

