नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ कात्तिक ।

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासम्बन्धी विवादबारे बोलेका छन्। प्रधानन्यायाधीश प्रकरणमा सत्ता गठबन्धनका कोही पनि नेता नबोलेको भनेर आलोचना भइरहेका बेला डा। भट्टराईले बिहीबार बिहानै सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका हुन्।
‘सतीदेवीको अंगपतन भएझैं नेपालको राज्यका स्थायी अंग एकपछि अर्को पतनको संघारमा पुग्नु गम्भीर विषय हो’, डा. भट्टराईले भनेका छन्, ‘त्यत्रो युगीन क्रान्तिपछि पुरानो राज्यका थोत्रा अंग यथावत् बोकेर हिँड्नुको दुष्परिणाम हो यो। हामी पनि महादेवले मरेकी सतीदेवीलाई काँधमा बोकेर भौंतारिए झैं गर्ने कि बेलैमा सदगत गर्ने ?’
यसअघि आफू पनि मुछिएको बालुवाटार जग्गासम्बन्धी मुद्दाको अन्तिम किनारा नलागेकाले उनी सर्वोच्च अदालतको विवादबारे नबोलेको चर्चा भइरहेको थियो।
वर्तमान गठबन्धन सरकारमा आफ्नो पनि ‘भाग’ खोजको कुरा सार्वजनिक भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर विवादको घेरामा परेका छन्। सर्वोच्च अदालतकै न्यायाधीश, नेपाल बार एसोसिएसनलगायत चारैतिरबाट उनको राजीनामा मागिएको छ।

