नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ कार्तिक।
युएई र ओमानमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा इंग्ल्यान्ड र नामिबिया विजयी भएका छन् । बुधबार भएको पहिलो खेलमा बंगलादेश इंग्ल्यान्डसँग ८ विकेटले पराजित भयो भने स्कटल्याण्ड नामिबियासँग ४ विकेटले पराजित हुन पुग्यो ।
इंग्ल्यान्ड यो लगातार दोस्रो जित हो भने बंगलादेशको लगातर दोस्रो हार । अबुधाबीमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निधारित २० ओभरमा ९ विकेट गुमाउदै १२४ रन बनाएको थियो । बंगलादेशका लागि मुस्फिकर रहिमले २९ रन बनाए भने कप्तान महमुदउल्लाहले १९ रन जोडे । त्यस्तै नासुम अहमेद १९ रनमा अविजित रहे भने नुरुल हसनले १६ रन बनाए । इंग्ल्यान्डका लागि ट्यामल मिल्सले ३ विकेट लिए भने मोइन अलि र लियाम लिभिङस्टोनको भागमा समान २-२ विकेट रह्यो ।
१२५ रनको लक्ष्य लिएर मैदान उत्रेको इंग्ल्यान्डले १४ ओभर १ बलमा २ विकेट गुमाउदै पूरा गर्यो । इंग्ल्यान्डको लागि जेसन रोयले ६१ रनको अर्धशतकीय पारी खेले भने डेभिड मालन २८ रनमा अविजित रहे । त्यस्तै जोस बट्लर १८ रन बनाई आउट भए भने जोनी बेयर्सटो ८ रनमा अविजित रहे । बंगलादेशका लागि शोरिफुल इस्लाम र नासुम अहमेदले १/१ विकेट लिए । जितसँगै इंग्ल्यान्ड २ खेलमा ४ अंक जोड्दै समूह १ को शीर्ष स्थानमा रहेको छ भने अंक विहीन बंगलादेश पाँचौं स्थानमा रहेको छ ।
त्यसैगरी बुधबार भएको दोस्रो खेलमा नामिबियाले स्कटल्याण्डलाई ४ विकले पराजित गरेको छ । आबुधाबीमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १०९ रन बनाएको थियो । स्कटल्याण्डका लागि माइकल लास्कले ४४ रन बनाए भने क्रिस ग्रेभ्सले २५ म्याथ्यु क्रसले १९ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । नामिबियाका लागि रुबेन ट्रम्पेलमानले ३ विकेट लिए भने जान फ्राईलिंकको भागमा २ विकेट रह्यो ।
१ १० रनको लक्ष्य लिएर मैदान उत्रेको नामिबियाले १९ ओभर १ बलमा ६ विकेट गुमाउदै पूरा गर्यो । नामिबियाको लागि जेजे स्मिथले अविजित रहदै ३२ रन बनाए भने क्रेग विलियम्सले २३ रन जोडे । त्यस्तै माइकल भानले १८ रन बनाई आउट भए भने डाविड विएसले १६ रन बनाए ।
स्कटल्याण्डका लागि माइकल लास्कले २ विकेट लिए भने क्रिस ग्रेभ्स, ब्राड ह्विल, मार्क वाट र साफ्यन शारिफको भागमा समान १-१ विकेट रह्यो । पहिलो पटक विश्वकपको सुपर १२ मा प्रवेश गरेको नामिबियाले पहिलो पटक जित निकाल्न सफल भएको हो । जितसँगै नामिबिया २ अंक जोडेको छ लगातार दोस्रो हार व्यहोरेको स्कटल्याण्डले अंक जोड्न सकेको छैन । प्रतियोगिता अन्तर्गत आज अष्ट्रेलिया र श्रीलंका भिड्दै छन् ।