प्रतिनिधिसभाको बैठक स्थगित

प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक आगामी कार्तिक २९ गते सोमबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको हो । बैठक सुरु हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै नाराबाजी सुरु गरेको थियो ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदन निरन्तर अवरोध गरिरहेको छ । त्यस्तै बैठकमा आज प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गरे । यस्तै सभामुख अग्निप्रसाद सापकोटाले गजेन्द्र हमालले उद्योगमन्त्रीबाट दिएको राजीनामाबारे राष्ट्रपतिको कार्यलयबाट प्राप्त पत्र पढेर सुनाए ।



त्यसैगरी सभामुखले सदनको कामकारबाही अवरुद्ध हुँदा जनसरोकारका विषयमा छलफल हुन नपाएको भन्दै संसदमा जारी नराबाजी रोक्न खुलाउन एमालेका सांसदहरुलाई आग्रह गरे । प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगातार अवरोध गरे पनि सभामुख अग्नि सापकोटाले संसदलाई अगाडि बढाइरहेका छन् ।

नवौं अधिवेशनको पहिलो बैठकदेखि नै संसद वैठकमा अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले यसअघिका सबै बैठकमा नाराबाजी गर्दै आएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै नाराबाजी गर्दै आएको छ।

एमालेले सभामुखले आफ्नो पार्टीले कारवाही गरेका १४ सांसदबारे सुचना टाँस नगरेसम्म संसद अवरुद्ध पार्ने एमालेले बताउँदै आएको छ ।

सम्बन्धित समाचार