संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य (पत्रसहित)

संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्का दुवै सदनको अधिवेशन अन्त्य गरेकी हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजिम शुक्रबार राति १२ बजेदेखि संसदका दुवै सदनको अन्य भएको घोषणा गरेकी हुन् । यसअघि बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आज मध्यराति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।



गत २३ भदौबाट नवौँ अधिवेशन सुरु भएको थियो । तर, सुरुकै बैठकबाट प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले विरोध र नारावाजी गर्दै आएका छन् । यद्यपि, एमालेको अवरोधकै बीच सभामुखले बैठक सञ्चालन गरेका थिए । एमाले सांसदहरुको नाराबाजीकै बीच बजेट पनि पारित भएको थियो ।

त्यस्तै संघीय संसदका महासचिव डा. भरतराज गौतमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कात्तिक २९ गतेका लागि डाकिएको प्रतिनिधिसभाको बैठक पनि अन्त्य भएको जानकारी दिएका छन् ।

सचिवालयले जारी गरेको सूचना यस्तो छ :

सम्माननीय राष्ट्रपतिज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७८–०७–११ को सिफारिसमा संघीय संसदको दुवै सदनको चालू अधिवेशन, सम्वत् २०७८ साल कार्तिक १२ गते शुक्रबार राती १२ः०० बजेदेखि अन्त्य भएकोले मिति २०७८ साल कार्तिक ११ गतेको प्रतिनिधि सभाको बैठकबाट कार्तिक २९ गते सोमबारका लागि तोकिएको प्रतिनिधि सभाको बैठक र मिति २०७८ साल असोज २५ गते सोमबार बसेको राष्ट्रिय सभाको बैठकबाट अर्को सूचनाद्वारा तोकिने मिति र समयमा बस्ने गरी स्थगित गरिएको राष्ट्रिय सभाको बैठक समेत अन्त्य हुने भएकोले क्रमशः प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ३ को उपनियम (२)को प्रतिबन्धात्मक वाक्यांश र राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ३ को उपनियम (२)को प्रतिबन्धात्मक वाक्यांश बमोजिम दुवै सभाका मा.सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

डा.भरतराज गौतम
संघीय संसदको महासचिव

पत्र

पत्र

सम्बन्धित समाचार