नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ कार्तिक ।

अदालतमा निरन्तर इजलास बहिष्कार गर्दै आएका १५ न्यायाधीशविरुद्ध रिट पुगेको छ । आज (शुक्रबार) १५ न्यायाधीश विरुद्ध सर्वोच्चमा रिट पुगेको हो ।
न्यायाधीशहरुले इजलासमा सहभागी नहुँदा न्याय प्रभावित भएकाले न्यायमा असर पर्नेगरी कार्य नगर्न-नगराउन माग गर्दै तीनवटा रिट आएको सर्वोच्च स्रोतले बताएको छ । स्वागत नेपाल, कृष्ण प्रसाईंलगायत अधिवक्ताहरुले रिट निवेदन दिएका हुन् । त्यस्तै रिट निवेदनमा इजलास बहिष्कार गरी मुद्दाको सुनुवाइ नगर्दा न्यायको हक उलंघन भएका कारण परमादेश माग गरिएको छ ।
नेपालको संविधानले हरेक नागरिकलाई न्याय प्राप्त गर्ने हकलाई अनतिक्रम्य हकको रुपमा व्यवस्थित गरेको तर, केही दिन यता बन्दी प्रत्यक्षीकरणका रिट निवेदन र थुनुवाका मुद्दामा समेत न्यायाधीशहरूले सुनुवाइ नगरेको कारण मानव अधिकारको हनन भएको दाबी निवेदनमा गरिएको छ ।
१५ न्यायाधीशले केही दिनयता इजलास बहिष्कार गर्दै आएका छन् ।

