नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ कात्तिक ।

नेकपा एमालेले पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको संख्या १ हजार ९ सय ९९ पु¥याउने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा शुक्रबार बसेको पार्टी केन्द्रीय कमिटी बैठकले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको संख्या बढाएर १ हजार ९ सय ९९ पु¥याउने निर्णय गरेको हो ।
पार्टीका केन्द्रीय सदस्यहरुले प्रतिनिधिसंख्या बढाउने प्रस्ताव गरेपछि करिव ४ सय थप गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए । बैठकले आगामी कार्तिक २७ गते देशभर एकैसाथ प्रतिनिधि चयनका लागि निर्वाचन गर्ने कार्यक्रम पनि तय गरेको छ ।
त्यसैगरी बैठकले महाधिवेशन मूल व्यवस्थापन कमिटीमा २ सदस्य थप गरेर २३ सदस्य पु¥याउने निर्णय पनि गरेको छ । पार्टी स्थायी कमिटीका सदस्य रघुजी पन्त र कार्यालय सचिव शेरबहादुर तामाङलाई पनि महाधिवेशन मूल व्यवस्थापन कमिटीमा थप गर्ने निर्णय गरिएको प्रवक्ता ज्ञवालीले बताए ।
एमालेले महाधिवेशनमा प्रयोग गर्ने विद्युतीय मतदान मेशिनको पनि परीक्षण गरेको छ । सो मेशिनको परीक्षण गर्दै बैठकले त्यसलाई महाधिवेशनका प्रयोग गर्ने निर्णय पनि गरेको हो ।

