नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ कात्तिक ।

सत्तारुढ दल नेपाली कांग्रेसका १२ जना केन्द्रीय सदस्यले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको आन्दोलनका पक्षमा उभिन आह्वान गरेका छन् । आज शुक्रवार एक प्रेस विज्ञप्ति निकालेर कांग्रेसका १२ युवा नेताले न्यायिक शुद्धीकरणका लागि भइरहेको आन्दोलनको पक्षमा उभिन पार्टी पङ्क्तिलाई आह्वान गरेका हुन् ।
केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गगन थापा, बद्री पाण्डे , जीवन परियार, गुरुराज घिमिरे, प्रदीप पौडेल, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादवले संयुक्त विज्ञप्ति निकालेर न्यायपालिकाबारे उठेका प्रश्नलाई कांग्रेसले नजरअन्दाज गर्न नहुनेमा जोड दिएका छन् ।
विज्ञप्तिमा अहिलेको आन्दोलन न्यायालयलाई निष्पक्ष, स्वतन्त्र र पवित्र राख्ने कि नराख्ने भन्नेमा केन्द्रित भएकाले कांग्रेसले आफ्नो जन्मकालदेखि नै स्वतन्त्र र निष्पक्ष न्यायालयको पक्षमा सङ्घर्ष गरेकोमा यस विषयमा मौन बस्न नमिल्ने भनिएको छ ।

