नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ कार्तिक ।
युएई र ओमानमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिका र इंग्ल्यान्ड विजयी भएका छन् । शनिबार भएको पहिलो खेलमा श्रीलंका दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भयो भने अष्ट्रेलिया इंग्ल्यान्डसँग ८ विकेटले पराजित हुन पुग्यो ।
सारजाहमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा सबै विकेट गुमाउदै १४३ रन बनाएको थियो । श्रीलंकाका लागि पाथुम निशन्काले ७२ रनको अर्धशतकीय पारी खेले भने चारिथ असन्काले २१ रन बनाए । त्यस्तै कप्तान डसुन शनकाले ११ रन जोडे । दक्षिण अफ्रिकाका लागि ताब्रेज शाम्सी र ड्वाने प्रिटोरिओसले समान ३-३ विकेट लिए भने एन्रिच नोर्कियाको भागमा २ विकेट रह्यो ।
१४३ रनको लक्ष्य लिएर मैदान उत्रेको दक्षिण अफ्रिकाले १९ ओभर ५ बलमा ६ विकेट गुमाउदै पूरा गर्यो । दक्षिण अफ्रिकाको लागि कप्तान टेम्बा बाभुमाले ४६ रन बनाए भने डेभिड मिलर २३ र कागिसो राबडा १३ रनमा अविजित रहे । यस्तै एडिन मार्क्रम १९ रन बनाई आउट भए भने रस्सी भान डेरले १६ रन जोडे । श्रीलंकाका लागि वाविन्दु हसरंगाले ह्याट्रिक सहित ३ विकेट लिए भने दुश्मन्था चामिराको भागमा २ विकेट रह्यो । जितसँगै दक्षिण अफ्रिका ३ खेलमा ४ अंक जोड्दै समूह १ को तेस्रो स्थानमा छ भने ३ खेलमा २ अंक जोडेको श्रीलंका चौंथो स्थानमा रहेको छ ।
त्यसैगरी शनिबार भएको अर्को खेलमा अष्ट्रेलियालाई ८ विकेटले हराउँदै इंग्ल्यान्डले तेस्रो जित निकालेको छ । दुबईमा टस हारेर पहिले पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा सबै विकेट गुमाउदै १२५ रन बनाएको थियो । अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले ४४ रन बनाए भने एस्टन अगरले २० रन जोडे । त्यस्तै म्याथ्यु वेड १८ रन बनाई आउट भए भने मिचेल मार्शले १३ रन बनाए । इंग्ल्यान्डका लागि क्रिस जोर्डनले ३ विकेट लिए भने क्रिस वक्स र ट्यामल मिल्सको भागमा समान २-२ विकेट रह्यो ।
१२६ रनको लक्ष्य लिएर मैदान उत्रेको इंग्ल्यान्डले ११ ओभर ४ बलमा २ विकेट गुमाउदै पूरा गर्यो । इंग्ल्यान्डको लागि जस बट्लरले अविजित रहँदै ७१ रनको अर्धशतकीय पारी खेले भने जेसन रोयले २२ रन बनाउँदा जोनी बेयर्सटो रनमा १६ रनमा अविजित रहे । अष्ट्रेलियाका लागि एडम जाम्पा र एस्टन अगरले समान १-१ विकेट लिए । जितसँगै इंग्ल्यान्ड ३ खेलमा ६ अंक जोड्दै समूह १ मा इंग्ल्यान्ड शीर्ष स्थानमा छ भने ३ खेलमा ४ अंक जोडेको अष्ट्रेलिया चौंथो स्थानमा रहेको छ । प्रतियोगितामा अष्ट्रेलियाको यो पहिलो हार हो ।
प्रतियोगिता अन्तर्गत आज दुई खेल हुने छन् । पहिलो खेलमा अफगानिस्तान र नामिबिया भिड्दै छन् भने दोस्रो खेलमा भारत र न्युजिल्याण्ड आमने सामने हुँदै छन् ।