नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ कार्तिक ।
स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार भएको खेलमा रियल मड्रिड विजयी हुँदा बार्सिलोना भने बराबरीमा रोकिएको छ । शनिबार भएको खेलमा रियलले इल्चेलाई २-१ ले पराजित गर्यो भने बार्सिलोना डिपोर्टिभो अलाभेससँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा खेलको २२ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफमा दुवै टोलीले समान १-१ गोल गरे । व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा जुनियरले खेलको ७३ औं मिनेटमा गोल गर्दै रियलको अग्रता दोब्बर बनाए ।
त्यसअघि खेलको ६४ औं मिनेटमा राउल गुटीले रातो कार्ड पाएपछि इल्चे १० खेलाडीमा समेटिएको थियो । त्यस्तै खेलको ८६ औं मिनेटमा इल्चेका मिल्लाले गोल गरेपनि त्यो ढिलो भैसकेको थियो र खेल रियलले २-१ ले आफ्नो पक्षमा पार्यो । जितसँगै रियल ११ खेलमा २४ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने १० अंक जोडेको इल्चे १५ औं स्थानमा रहेको छ ।
त्यसैगरी शनिबार भएको अर्को खेलमा बार्सिलोना डिपोर्टिभो अलाभेससँग १-१ गोलको बराबरीमा रोकिएको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको निकै प्रतिस्पर्धात्मक खेलमा दोस्रो हाफमा दुवै टोलीले समान १-१ गोल गरे । दोस्रो हाफको ४९ औं मिनेटमा मेम्फिस डिपेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।
तर, खेलको ५२ औं मिनेटमा लुइस रिओजाले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि थप समयमा कुनै टोलीबाट गोल भएन र खेल १-१ को बराबरीमा सकियो । यद्यपि दुवै टोलीले केही गोल गर्ने सुन्दर अवसर खेर फालेका थिए ।बराबरीसँगै बार्सिलोना ११ खेलमा १६ अंक जोड्दै नवौं स्थानमा छ भने १० अंक जोडेको अलाभेस १६ औं स्थानमा रहेको छ ।