नेपाल र लेबनान भिड्दै

एएफसी यू -२३ एसियन कप छनोट अन्तर्गतको तेस्रो तथा अन्तिम खेलमा आज (आइतबार ) नेपालले लेबनानको सामना गर्दैछ । ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो ४:४५ बजे हुनेछ ।

छनोट अन्तर्गत पहिलो खेलमा इरानसँग ४-० ले पराजित भएको नेपाल दोस्रो खेलमा घरेलु टिम ताजिकिस्तानसँग ६-० ले पराजित भएको थियो । यी दुई बीचको खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ । किनकि दुबै टिम अघिल्ला दुई खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेका छन् ।



एसियन कप छनोटको समूह ‘बी’ मा रहेको नेपालको समूहमा लेबनान, इरान र ताजिकिस्तान रहेका छन् । एसियन कप छनोट अन्तर्गत पहिलो खेल इरानसँग खेलेको नेपालले दोस्रो खेल ताजिकिस्तानसँग र तेस्रो खेल आज लेबनानसँग खेल्न लागेको हो ।

नेपाल आजको खेल जित्दै छनोटको सु:खद अन्त्य गर्न चाहन्छ । लेबनानविरुद्ध मैदान उत्रदा नेपाल सान्त्वना जितको खोजीमा हुनेछ । समूहमा ६ अंक जोडेको घरेलु टोली ताजिकिस्तान शीर्ष स्थानमा रहँदा समान अंक रहेपनि गोल अन्तरमा पछि पर्दै इरान दोस्रो स्थानमा रहेको छ । यस्तै अंक जोड्न नसकेको लेबनान तेस्रो र नेपाल पुछारमा रहेको छ ।

११ समुहमा रहेको छनोटका शीर्ष टोली सहित दोस्रो स्थानमा रहेका उत्कृष्ट चार टोलीले एएफसी यू –२३ एसियन कप खेल्नेछन् । फाइनल चरणको प्रतियोगिता सन् २०२२ को जुन १ देखि १९ सम्म उज्वेकिस्तानमा आयोजना हुँदैछ।

सम्बन्धित समाचार