नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ कात्तिक ।

पूर्वराष्ट्रपति डा।रामवरण यादवले न्यायालय विवादमा फसेको बेला प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत भ्रमणमा निस्किएर राष्ट्रकै बेइज्जत गरेको आरोप लगाएका छन् । ‘विपी विचार, नीति र व्यवहार’ नामक पुस्तकको आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच विमोचन गर्दै उनले न्यायका प्रतिष्ठित व्यक्तिहरु, कानुनविद्हरुसँग सल्लाह गरेर न्यायालयमा देखिएको समस्या समाधान गर्नुपर्दैन ? भनेर सरकारलाई प्रश्न गरे ।
कानुनमन्त्रीले यो समस्याको समाधान गर्न नसक्ने बताउँदै पूर्वराष्ट्रपति यादवले न्यायालय बेहाल अवस्थामा रहेका बेला प्रधानमन्त्री देउवाले बेलायत भ्रमण गरेर नेपालको शिर निहुँर्याएको बताए । उनले सारा न्यायाधीशहरु, नेपाल बार, कानुनविद्हरु एक ठाउँमा रहेका बेला पनि राजीनामा दिन्न भनेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले कसको आडमा भनेको भनेर सरकार र राजनीतिक दलहरूमाथि प्रश्न गरे ।
उनले भने, ‘न्यायालयमा सारा न्यायाधीशहरु एकातिर छ । बुद्धिजीविहरु एकातिर छ । संविधानविद्हरु, कानुनविद्हरु एकातिर छ । यस्तो अवस्थामा प्रधानन्यायाधीश भन्छन् कि म छोडिदिन । केही नभएपनि एक्लै बेन्चमा बस्छ । कसको तागतमा ?’
पूर्वराष्ट्रपति यादवले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाप्रति पनि असन्तुष्टि जनाए । उनले संविधानमा नभएको संसद भंग गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयमा राष्ट्रपति भण्डारीले साथ दिएकोमा असन्तुष्टि जनाए ।

