लण्डनमा रहेका प्रधानमन्त्री देउवा विभिन्न भेटवार्तामा व्यस्त, नेपालको स्वच्छ ऊर्जा विकासमा लगानी गर्न आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार पनि लण्डनमा विभिन्न कार्यक्रम तथा भेटवार्तामा व्यस्त भए। उनीसँग आइतबार बेलायत सरकारका मिनिस्टर फर लण्डन र स्मल इण्डस्ट्रिज मन्त्री पल सोलीले शिष्टाचार भेट गरे।

नेपालमा नवीन प्रविधि भित्र्याउन बेलायतको सहयोग अपेक्षा गर्दै प्रधामन्त्री देउवाले ‘ग्रिन एण्ड क्लिन’ ऊर्जामा लगानीका निम्ति संयुक्त अधिराज्यका उद्योगपति व्यापारीलाई नेपाल गन्तव्य बनाउन आग्रह गरे। प्रधानमन्त्रीको आग्रहलाई सहर्ष स्वीकार गर्दै मन्त्री सोलीले बेलायत सरकार र उच्च निकायसँग थप छलफल गरेर निष्कर्षमा पुगिने र सक्दो सहयोगको प्रतिबद्धता जनाएको भेटमा सहभागी परराष्ट्रसचिव भरतराज पौड्यालले जानकारी दिए।



आइतबार नै यहाँस्थित भूतपूर्व गोर्खा सैनिक सङ्‍गठनका पदाधिकारीहरूसँगको भेटमा प्रधानमन्त्री देउवाले बेलायती कानुनअनुसारको माग राख्न आग्रह गर्दै उनीहरूका समस्या समाधानमा नेपाल सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिएका थिए। आजै प्रधानमन्त्री देउवासँग वर्ल्ड इनर्जी काउन्सिलका चिफ अपरेटिङ अफिसर तानिया बौम्यानले पनि भेटवार्ता गरे।

प्रधानमन्त्रीको सम्मानमा लण्डनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत रोशन खनालले आयोजना गरेको स्वागत समारोहमा उनी सहभागी भए। साथै, उनले जलवायु परिवर्तनका असरले नेपालमा पारेको प्रभावलाई मुख्य मुद्दाका रुपमा प्रस्तुत गर्ने बताए।

प्रधानमन्त्री देउवा भोलि र पर्सी स्कटल्याण्डको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय खाका संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन ९कोप(२६० अन्तर्गत विश्व नेताहरूको शिखर सम्मेलनमा सहभागी हुँदै छन्।

सम्बन्धित समाचार